Advertisement
काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठक सम्पन्न भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मधेसी व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका खेल्ने सहमति जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावसहित निर्वाचन सम्वन्धी बिधेयकहरु पारित गरेर स्थानीय तहको निर्वाचन सफल पार्न दलहरुलाई आग्रह गरेका थिए । बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सम्वन्धी कानूनलाई आवश्यक परिमार्जन सहित पारित गर्न सकारात्मक भूमिका खेल्ने सहमति भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा वादल, मातृका यादव, पम्फा भुषाल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, ह्दयेश त्रिपाठी, अशोक राईलगायत सहभागी थिए ।

पोखरा, २९ पुस । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

पोखरा उपमहानगरपालिका २१औँ नगर परिषद्को सार्वजनिकीकरण समारोहको शुक्रबार उद्घाटन गर्दै उनले भने, 'देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको छ ।'

उपप्रधानमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने बताए ।



'पोखरालाई एउटा स्मार्ट सिटीका रुपमा विकास गर्न राज्यको ध्यान जानु आवश्यक छ', उनले भने, 'त्यसका लागि राज्यका साथै समुदाय, निजी क्षेत्र सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।' 

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ मा लामो समयदेखि करको दायरामा नआएका ठूला करदातालाई करको दायरामा ल्याउने, वातावरणीय संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण, फेवाताल संरक्षण, पर्यटन तथा पूर्वाधार विकास, सहज सेवा प्रवाह, संस्कृति संरक्षण, महिला सशक्तीकरण, जनजाति, ज्येष्ठ नागरिक तथा पिछडिएका क्षेत्र विकासलगायतका विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

उनका अनुसार सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई सम्पन्न गर्न आव २०७४/७५ मा स्थानीय कर, सेवा शुल्क तथा अन्य आयबाट गरी कुल आन्तरिक आम्दानी ६२ करोड ६५ लाख ९५ हजार र बाह्यतर्फ रु ६५ करोड ९० लाख गरी कुल एक अर्ब २८ करोड ५५ लाख ९५ हजार आय प्रस्ताव गरिएको छ । 

त्यस्तै व्ययतर्फ पूर्वाधार तथा संरचना विकासमा रु ५६ करोड, जनसङ्ख्या तथा सामाजिक विकासमा ३७ करोड १६ लाख, कृषि, वन, वातावरणमा नौ करोड ९५ लाख ५५ हजार, भूमि तथा जलस्रोतमा तीन करोड २२ लाख ९६ हजार र प्रशासन तथा सङ्गठनमा २२ करोड २१ लाख ४४ हजार अनुमान गरिएको छ । 

कार्यकारी अधिकृत ढुङ्गानाले समग्र पोखरा नगरको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अघि बढाउँदै तर्जुमा भएका योजनालाई प्रभावकारी र वैज्ञानिक कार्यान्वयन गर्न सम्बद्ध सबै पक्ष र निकायको सहयोग हुने विश्वास लिइएको बताए । रासस
काठमाडौँ, २८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को राजधानीमा बिहीबार लोकार्पण गर्दै उनले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए ।



अध्यक्ष ओलीले भने, 'मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, म जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ ।'

ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलगअलग रुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले कम्युनिष्ट उग्र नभई शिष्ट, संयमित र समर्पित हुनुपर्छ, त्यसैले आफू सही कम्युनिष्ट नेता भएको दाबी गरे ।

अर्काे प्रसङ्गमा अध्यक्ष ओलीले पृथ्वीनारायण शाहलाई सम्मान गर्ने क्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्दै 'जन्मसिद्ध श्रेष्ठताका आधारमा बनेको र विगतमा खराब इतिहास भएको राजतन्त्र चाहिन्छ भन्नु पाखण्ड हो,' भने ।

जन्मोत्सवसँगै पुस्तक विमोचन 

नेता नेपालको ६४औँ वर्ष दिनका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष ओलीले ‘सूर्य अङ्कित केक’ काटेर नेपाललाई खुवाएका थिए ।

नेता नेपालको सो पुस्तक मुलुकका राजनीतिक विसङ्गतिमा केन्द्रित रहेको समालोचक डा.कुमारप्रसाद कोइराला र गीता त्रिपाठीले टिप्पणी गरे । रासस

Copyright © 2026 khabaralaya.com