Advertisement
सोलुखुम्बु, २९ पुस । स्थानीय दूधकुण्ड नगरपालिका- ६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख पर्ने ५१ लाख मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराएका हुन् । नगरपालिकाले हाल जिरो प्वाइन्टको रुपमा प्रयोग गरिरहेको स्थान अत्यन्तै साँघुरो भएकोले खुल्ला स्थानमा जिरो प्वाइन्ट बनाइएकाले आवागमनका लागि सहज भएको छ । 

नगपालिकाले जग्गादाता श्रेष्ठलाई नगर परिषद्का अवसरमा सम्मान समेत गरेको छ । श्रेष्ठले जग्गा उपलब्ध गराएर बसपार्क निर्माण गर्न सहज भएको नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटराईले बताए । रासस 

मोरङ, २९ पुस । झापाको दमक-१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी-४ का गौरव श्रेष्ठको मृत्यु भएको छ ।

राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस 
Copyright © 2026 khabaralaya.com